सुरुङ मार्ग हेर्न पुगे ओली, मजदुरहरुलाई दिए धन्यवाद - रुपान्तरण
 २०८३ जेठ ३, आईतबार    

सुरुङ मार्ग हेर्न पुगे ओली, मजदुरहरुलाई दिए धन्यवाद


काठमाडौं । हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण थियो, इन्द्र दहकै दक्षिणतर्फको फेदिमा शुरु भइरहेको नागढुंगा नौबिसे सुरुंग मार्गको पूर्र्वी प्रवेशद्वारको निरिक्षण ।

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानी जहाजसम्मको पुर्वाधार विकासको मार्ग देखाएको दाबी गर्ने ओलीको प्राथमिकतामा सुरुङ मार्ग समेत पर्छ । डाडाँकाडाँ उकालो ओह्रालो तथा असंख्य घुम्तिहरु पार गर्दै हिंडने सडकअब सुरुंग मार्गबाट निमेष भरमै यसअघि कयौं घन्टा लाग्ने मार्ग पार गर्दैछ । देश अब सुरुंग युगमा प्रवेश गरिसकेको बताउने ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भनेका थिए– ‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ ।’

इन्द्रदहको कार्यक्रम सकेर सुरुंगको प्रवेशद्वार पुगेका ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुंगको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौति र कोभिडका कारण परेको असरबारे जानकारी गराएका थिए ।

उनीहरुका अनुसार कुल २.६८ किलो मिटर लम्बाईको दुई लेनको यो सुरुंग मार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीनवटा पुल र दुई अण्डर पाससहित निर्माण हुँदैछ । यसमा पानी कटाउने, आकस्मिक उद्धार र सुरुंगभित्र २४ सै घन्टा प्रकाश अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभि समेत हुनेछ ।

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि ओलीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिंदै काम राम्ररी गर्न हौस्याएका थिए । प्रधानमन्त्रीले आफूतिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले ओलीसँग सामूहिक फोटो पनि खिचाएका थिए ।

गत २०१९ को नोभेम्बर महिनामा शुुरु भएको ठेक्का मितिले ४२ महिनाभित्र सम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुंगको पश्चिमी मार्ग तर्फबाट ९० मिटर खनिएको छ भने पुर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पुर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चट्टानको भाग शुरु भएपछि सुरुंग निर्माणले तिव्र गति लिने जानकारी पनि निर्माण पदाधिकारीहरुले दिएका छन् ।