– रुचि श्रेष्ठ
खेलकूद र मनोरंजन जगतका ‘सेलिब्रेटी’ले सार्वजनिकरुपमा गरेका प्रत्येक गतिबिधिको “मोनिटरी भ्यालु” अर्थात मौद्रिक मूल्य हुन्छ । पूँजीतन्त्रका लागि यो पारम्परिक अभ्यास नै हो । आजको समयमा सामाजिक संजालले यो अभ्यासलाई अत्यन्त ब्यापक बनाएको मात्र हो ।
अहिलेको बजारले राजनीतिक ‘सेलिब्रेटी’को पनि मौद्रिक मूल्य असूल गर्न थालिसकेको छ । गत जनवरी महिनामा स्वीट्जरल्याण्डमा भएको “द वल्र्ड इकोनोमिक फोरम” मा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याकरोनले घरभित्र पनि लगाएको सन–ग्लासेसले यूरोपको बजारमा यस्तै ‘मौद्रिक तरंग’ ल्याएको थियो । ७७५ अमेरिकी डलरपर्ने त्यो इटाली स्वामित्वमा रहेको फ्रान्सेली ब्राण्डको सन–ग्लासेस म्याकरोनसँग जोडिएपछि खरीदगर्नेहरुको घुइँचो लागेर त्यस ब्राण्डको वेबसाइट नै ‘डाउन’ भयो । फोरममा उठाइएका मुद्दा एकातिर, म्याकरोनको सन–ग्लासेसमाथि नागरिक चासोको पहिरो अर्कोतिर ! अन्ततः राष्ट्रपति म्याकरोनले प्रेसलाई सन–ग्लासेस लगाउनुको कारण उनको आँखामा आएको समस्या हो भनेर स्पष्ट पार्नुपरेको थियो ।
सन–ग्लासेसको चर्चा नेपालको राजनीतिमा पनि छ : प्रधानमन्त्री बालेनले लगाउने गरेको कालो चश्मा । तर, उनी आफ्नो कालो चश्मा लगाउनुको कारण खुलाउदैनन । उनलाई चश्माको ब्राण्ड प्रमोशनमा चासो छैन, किनभने उनलाई राजनीतिक सेलिब्रेटीको छविमा आफ्नै ब्राण्ड स्थापित गर्नुपरेको छ । ब्याग, जुत्ता, चश्माको ब्राण्ड नभए राजनीतिकै सही, अन्तर्राष्ट्रिय बजारमा नेपालको ‘बालेन ब्राण्ड’ चर्चामा छ : कहिले प्रभावकारी मेयरका रुपमा त कहिले बोल्दै नबोल्ने प्रधानमन्त्रीका नाममा । उनी नबोलेकाले गर्दा देश भित्र र बाहिरका विश्लेषक र पत्रकारहरुलाई उनको विचारका बारेमा बोल्न सारै अपठ्यारो परेको छ । उनका समर्थक र बिरोधी दुबै अड्कलबाजी लगाउन बिवश छन । समर्थक भन्छन ‘बालेन पुराना नेताहरु जस्ता भाषण, उद्घाटन गरेर समय खेरफाल्ने प्रधानमन्त्री होइनन । उनी काम गरेर देखाउनमा विश्वास राख्छन ।’ बालेन ब्राण्ड त स्थापित भइसक्यो । तर, उनी नेता चाही हुन कि होइनन ? उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता त अझै भएका छैनन । रास्वपाले उनका लागि निर्वाचन क्षेत्र तोक्नु अघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिदिएको थियो । तर, बालेन साहले अझै रास्वपालाई अपनाएका छैनन । उनको मनमा के छ, पशुपतिनाथले जानुन !
प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको झण्डै दुई महिना पुग्न लाग्दा पनि बालेनले संसदलाई सम्बोधन गरेका छैनन । वैशाख २८ गते संसदमा आफनै सरकारले बनाएको नीति र कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहनु भएकै बेला प्रधानमन्त्री जुरुक्क उठेर लुइ–लुइ हिडिदिए । राजनीतिका ‘सेलिब्रेटी’ले गरेका असामान्य र सामान्य, सबै किसिमका व्यवहारको राजनीतिक अर्थ लगाइने गरिन्छ । यहाँ त संसदमा, त्यो पनि प्रधानमन्त्रीको व्यवहारको सवाल छ । प्रधानमन्त्री संसदबाट निस्कदै गरेको फोटो र भिडियो भाइरल भए सँगै उनको विषयमा अर्को कुरा पनि चर्चामा आयो : संसदमा उनको अर्ध–औपचारिक पहिरन । २०६५ साल यताका संविधानसभाका सदस्यहरुले आदिवासी, जनजाती, भौगोलिक क्षेत्र र पहिचानको सम्मानमा सांस्कृतिक पहिरन लगाएर शपथ ग्रहण गर्न शुरु गरेका थिए । त्यो कुनै “हालोवीन कस्ट्युम पार्टी” थिएन । अहिले प्रधानमन्त्री बालेन्द्र साहले कसको सम्मानमा अर्ध–औपचारिक पहिरन लगाएका हुन ?
बीपी कोइरालाले भन्नुभएकोछ, साहित्यमा सम्राट पनि बिवस्त्र हुन्छ । तर, राजनीतिमा सानो मानिसलाई पनि पोशाक चाहिन्छ । बीपीको यस कथनको तात्विक अर्थ जति दार्शनिक छ, त्यतिनै व्यवहारिक पनि छ । वैशाख २८ गते संसदमा प्रधानमन्त्री बालेन्द्र साहको बिवस्त्र व्यवहारले अहिलेको नेपालको राजनीतिमा बीपीको यो कथनलाई अझै सान्दर्भिक बनाइदिएकोछ । बालेनको प्रतिरक्षामा बोल्ने र लेख्ने व्यक्तिहरुले बालेनका तर्कशून्य गतिबिधिहरुलाई एउटा नवजात शिशु सरह पोषण गरिरहेकाछन । किनभने प्रधानमन्त्री आफै बोल्दै बोल्दैनन ।
लोकतान्त्रिक राज्य व्यवस्था र अभिव्यक्ति स्वतन्त्रता भएको देशका कार्यकारी प्रमुखले बोल्दै नबोली शासन गर्ने अदम्य साहसको स्रोत के होला भन्ने प्रश्न नेपालीहरुको मनमा अवश्य उठेकोछ । बालेन ब्राण्डका फलोअरहरु भन्छन, ‘हाम्रा प्रधानमन्त्री बोलेर होइन गरेर देखाउछन’ ।
आफूलाई नयाँ भन्ने नेता र उनका कार्यकर्ताहरुसँग आफनो विचार स्थापित गर्ने तार्किक क्षमता छैन । नयाँले पुराना घोषणा गरेका नेताहरुले सत्यको रक्षागर्ने नैतिक सामथ्र्य देखाउन सकेका छैनन । यस्तो अवस्थामा पीडित हुने त नेपाली जनता नै हुन । नेपाली जनता सहनशील छन । तर, अधीर छन । धैर्य बिना सहनशीलताको खासै अर्थ हुदैन । तर, यहाँ सहनशीलतालाई पनि धैर्यको नाम दिने गरिएकोछ । माक्र्स र माओका सिद्धान्त मात्र होइन । यहाँ यस्ता धेरै शब्द, सिद्धान्त र दर्शनहरुको आफनो स्वार्थ अनुसार र अज्ञानतावश ब्याख्या–अपव्याख्या भएकोछ । बालेन ब्राण्ड स्थापितगर्ने उनका फलोअरहरुले उनलाई देशकै महानतम इन्फ्लुएन्सर भन्न थालेका छन । “इन्फ्लुएन्स” गर्नु मतलव प्रभावित गर्नु र “इन्स्पाएर” गर्नु मतलव प्रेरित गर्नुमा आकाश–जमीनको फरक छ । अचेल नेपाली समाज प्रगतिशील, परिवर्तनप्रिय र उदार हुदैगएको व्याख्या गरिन्छ । यथार्थमा, यहाँ बिगतका राजनीतिक परिवर्तनहरुले चीर्न नसकेको अज्ञानता र त्यसले निम्त्याएको असंवेदनशील र अधीर चरित्र ब्याप्त भएको छ ।
अस्ति सिंहदरबार जलिरहदा मानिसको ज्यान ठूलो भनेर प्रचार गरिएको थियो । हिजो सुकुम्बासीको बस्ती उजाडिदैगर्दा सुन्दर शहरको मनोरम दृश्यको प्रचार प्रसार हुन थाल्यो । अज्ञानताले निम्त्याएको असंवेदनशीलता खतरापूर्ण हुन्छ । तर, ज्ञान, शीप र स्रोत भएकाहरुको असंवेदनशीलता झन बढी खतरापूर्ण हुन्छ । यस्तै शीप र स्रोत भएकाहरुको असंवेदनशीलता बिरुद्धको बिद्रोह थियो ६० र ७० को दशकको हिप्पी आन्दोलन । त्यस समयका युवा र हिप्पीहरुले पुँजीवाद, उपभोक्तावाद, बिभेद र युद्धका बिरुद्ध आवाज उठाएका थिए । पुँजीतन्त्र र बजारको विश्वव्यापिकरणले प्राकृतिक स्रोत र विश्व वातावरण माथि निम्त्याएको संकट प्रतिको चेतावनी थियो हिप्पी आन्दोलन । हिप्पीहरुको बलियो बैचारिक धार र तर्क थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा, उनीहरुको विचारको जगमा विवेक र करुणा थियो : समस्त मानव जाति प्रति करुणा, प्रकृतिप्रति संवेदनशीलता । यो आन्दोलनको संवेदनशीलता र स्वच्छन्दताले गर्दा नै यसमा धेरै साहित्यकार, संगीतकार र कलाकारहरु जोडिएका थिए । यो समयमा सयौं सामाजिक अभियन्ता र बिचारकहरुले आफना विचार र सिद्धान्त स्थापित गरे । हिप्पी आन्दोलनले बिभिन्न समुदाय र देशमा समानता र अधिकारका लागि अनेकौ आन्दोलनलाई ‘इनफ्लुएन्स’ होइन प्रेरित गरेको थियो । कतिपय आन्दोलन सफल भए । मानिसहरुले राजनीतिक अधिकार पनि पाए । तर, यसले पुँजीतन्त्र र विश्वव्यापिकरणको अर्थनीतिलाई हल्लाउन सकेन ।
६० र ७० को दशकले एउटा वैचारिक आँधी त ल्याएकै हो जसलाई सम्झेर, जसको बारेमा पढेर आज पनि मानिस तरंगित, रोमान्चित र प्रेरित हुन्छन ।