नववर्ष २०८३ को शुभकामना - रुपान्तरण
 २०८३ जेठ ३, आईतबार    

नववर्ष २०८३ को शुभकामना


- किशोर नेपाल

जेनजी बिद्रोहले तहस–नहस पारेको देश लयमा फर्किन सकेको छैन । बिद्रोहले सखाप पारेको देशलाई लयमा फर्काउन गरिएको चुनावको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा भएकोछ । पहिलो राष्ट्रिय जन–आन्दोलनले वहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गरेको थियो । राजा संवैधानिक हैसियतमा फर्केका थिए । देशको सामाजिक र आर्थिक हैसियत अलिकति उक्सिन थालेको थियो । तर, राष्ट्रिय जन–आन्दोलनको लगत्तै शुरु भएको माओवादी जन–युद्ध राजनीतिक र आर्थिक बिकासक्रममा अवरोधक बन्यो । त्यो कालखण्डमा देशमा संवैधानिक हैसियतमा रहेका राजा र उनको वंशको विनास भयो । त्यो विनासको आशय के थियो ? त्यसमा कसको हात थियो ? अहिलेसम्म त्यो रहस्यको पर्दाफास हुन सकेको छैन ।

त्यसपछि भएको दोस्रो राष्ट्रिय जन–आन्दोलनले देशलाई नयाँ परिचय दियो : संघीय गणतन्त्र नेपाल । यो नयाँ परिचयपछि पनि देशमा सामन्तवादी शक्तिहरुको जगजगी यथावत रह्यो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी), मधेश र पहाड केन्द्रित विभिन्न राजनीति दलहरु शक्तिकेन्द्रमा स्थापित भए । तर, देशको सामाजिक, आर्थिक र राजनीतिक समस्याहरुको टुंगो लगाउन दलहरुका बीच आवश्यक सहमति जुटन सकेन । विकासको गति एकदमै सुस्त रह्यो । विश्व राजनीतिमा आएको वहुआयामिक परिवर्तनका कारण विकास खर्च जुटाउन अन्य अविकसित देशहरुलाई जस्तै नेपाललाई पनि मुश्किल पर्यो ।

नेपालमा विकासका अभियानहरु सुस्त रहे । ठूला नदीबाट बिजुली उत्पादन गरेर निर्यातगर्ने, कृषि विकासलाई प्रोत्साहित गरेर खाद्यान्नमा आत्मनिर्भरहुने, वन–जंगलको संरक्षण गरेर प्राकृतिक सम्पदालाई व्यवसायिक बनाउने, राजमार्ग र सहायक मार्गहरुको बिस्तारगर्ने, पर्यटनलाई ब्यवसायिक रुपमा प्रवद्र्धनगर्ने जस्ता कार्यक्रमहरु योजनामा मात्र सीमित भए । प्रजातान्त्रिक र लोकतान्त्रिक – दुवै चरणका योजनाकारहरु उनै रहेकाछन जसको योग्यता, चरित्र र साखमाथि वारम्वार प्रश्न उठ्ने गरेकोछ । हिजोदेखि आजसम्म, आजदेखि भोलिसम्म, यी असफल सावित भएका ब्यक्तिहरु नै निर्लज्जतापूर्वक सत्तामा बसेका छन ।

नयाँ पुस्ताको आन्दोलनका रुपमा भएको जेनजी आन्दोलनपछि जनताका मौलिक अधिकार सीमितहुने सम्भावना बढेकोछ । देशको भौगोलिक सीमाको रक्षा र आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको शक्तिको नेतृत्व वर्गमा सत्ताको लोभ दिनानुदिन बढदै गएकोछ । देशको सुरक्षाको जिम्मा लिएको शक्तिले भदौ २४ को गतेको विनास किन रोकेन ? जेनजी विद्रोह पछिको समयमा देखिएका घटनाक्रम र परिदृश्यहरुले यसअघि अराजनीतिक शक्तिको उदाहरण बनेको सेनाको नेतृत्वको महत्वाकांक्षालाई सबैका सामु स्पष्ट गरिदिएकोछ ।

यो सत्य हो, राजनीतिक सत्ताको परिवर्तनमात्रैले नेपाली जनताको जीवनमा गुणस्तरीय परिवर्तन आउने होइन । यसका लागि राजनीतिक शक्तिहरुले जनतालाई प्रोत्साहित र परिचालित गर्नुपर्दछ । अहिले देशको युवा शक्ति वैदेशिक रोजगारतिर लहसिएकोछ । देशमा केही गरेर खान नसकिने गुनासो सबैको मुखमा छ । जान्ने–सुन्ने र पढेलेखेका सम्भ्रान्त वर्गको कब्जामा रहेकोछ देश । यो राम्रो अवस्था होइन । यो अवस्थाबाट पार पाउन जनतालाई परिचालितगर्ने राजनीतिक नेतृत्व अनिवार्यछ ।

तर, देशको राजनीतिमा त्यस्तो स्वार्थरहित नेतृत्व देखिन सकेको छैन । भर्खरै सम्पन्न चुनावपछि बनेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणहेर्दा पनि यो कुरा स्पष्ट हुन्छ । देशका गरीव र निमुखा जनताको शासनमा धनी वर्गको वाहुल्य बढदै गएको छ । आफना घोषित उद्देश्यप्रति कुनैपनि पार्टीका नेताहरु इमान्दार देखिदैनन । देश संकटमा छ । जनता पीडामा छन । ती पीडित जनताबाट देश संचालनगर्ने आदेश पाएका नेताहरु आफनै नीजि स्वार्थमा लिप्त देखिएका छन । वलिया राजनीतिक शक्ति भनेर स्थापित भएका राजनीतिक दलका नेताहरु आपसी कलहमा व्यस्त छन । देशमा वैदेशिक षडयन्त्रको चर्चा घनीभूत भएकोछ । सरकार चलाउनेहरु आफनै स्वार्थमा मँडारिएका छन ।

यो प्रतिकूल अवस्थामा पनि आशाका किरणहरु देखिन छाडेका छैनन । बिक्रम सम्बत २०८३ को शुभ अवसरमा सबै नेपालीमा मंगलमय शुभकामना ।