संझनामा किशुनजी - रुपान्तरण
 २०८३ जेठ ३, आईतबार    

संझनामा किशुनजी


–किशोर नेपाल

‘किशुनजी’ मात्रै भने पुग्दछ । कृष्णप्रसाद भट्टराई भनिरहनु नै पर्दैन । वृहत्तर नेपाली समाजमा उहाँ यही नामले परिचित रहनु भयो । आत्माको पवित्रता र चरित्रमा उल्लास, उहाँको व्यक्तित्वको विशिष्ट पहिचान थियो । उहाँको पार्थिव अनुपस्थितिको यो अवधिमा नेपाली समाजमा ठूलो उथल–पुथल भइ सकेको छ । देश द्रूततर गतिमा ओरालो लाग्दै गरेको अनूभूति भएकोछ । देशप्रति समर्पित सामान्य नेपाली जनताको मनमा किशुनजीको सम्झना बाक्लिएकोछ : उहाँ नेपाली जनताको ‘आफनो मानिस’ हुनुहुन्थ्यो । देशमा लोकतान्त्रिक शासन स्थापनाका लागि उहाँले गर्नु भएको लामो र कष्टपूर्ण संघर्षको सम्झना अविस्मरणीयछ ।

वर्तमान राजनीतिक परिवेशमा किशुनजीको अनुपस्थिति कसैलाई खटकिएको छैन । गणतन्त्र नेपालका पिताका रुपमा परिचित गिरिजाप्रसाद कोइराला नै विस्मृतिको गर्भमा धकेलिइ सक्नु भएको अहिलेको समयमा राजनीतिको ‘धन्दा’मा लागेकाहरुले किशुनजीलाई सम्झिनुपर्ने कुनै कारणपनि छैन । संवैधानिक राजतन्त्र र वहुदलीय ब्यबस्था अन्तर्गत भएको अन्तिम संसदीय चुनावको नेतृत्व गरेर कांग्रेसलाई वहुमतले जिताउने नेताप्रति कांग्रेसले गरेको व्यवहारको सम्झना गर्नेबेला यो होइन ।

किशुनजी ठट्टागर्नु हुन्थ्यो । आफनो पीडालाई ठट्टामा अनुवादगर्ने उहाँको शैली जीवन्त थियो । उहाँले गर्नुहुने ठट्टाका विरुद्ध छापागिरी हुने गर्दथ्यो । उहाँका राजनीतिक बिरोधीहरु उहाँको व्यक्तित्वको सान्दर्भिकता समाप्त भइ सकेको हल्ला गर्दथे र रमाउँथे ।

नेपालको आत्मकेन्द्रित र संवेदनहीन राजनीतिबाट स्वेच्छाले पन्छिएर वस्नु भएको थियो किशुनजी । उहाँको दौराको फेर समातेर सत्ताको भरेङ चढन खोज्नेहरु उहाँको वरपर झुुम्मिइ रहन्थे । निस्पृह भावले उहाँ ती सवैलाई सान्त्वना दिनुहुन्थ्यो । त्यतिसम्म हो । आफना लागि र अरु कसैका लागि पनि कहिल्यै कुनै आग्रहगर्नु भएन उहाँले । उहाँ जे हुनुहुन्थ्यो त्यही देखिनु हुन्थ्यो । आफनो निर्णायक क्षमतामा कहिल्यै कुनै चूक आउन दिनु भएन किशुनजीले ।

वर्तमानमा नेपाली राजनीतिका मानदण्डहरु वदलिएकाछन । किशुनजीले मानवीय स्वतन्त्रताका लागि, नेपाली जनताको अधिकार र आत्म–सम्मानका लागि सतत संघर्षगर्नु भएको थियो । नेपाली जनताले स्वतन्त्रताको सीमा नाघेर स्वच्छन्दताको हदैसम्म आफनो अधिकारको उपभोगगर्न पाउनु पर्दछ भन्ने मान्यतामा उहाँ जीवनभरि दृढ रहनु भयो । राजनीतिक ध्रुवमा कहिल्यै दक्षिणपन्थी रुझानराख्नु भएन किशुनजीले । उहाँ न कसैसंग दच्किनु भयो, न डराउनु भयो । २०४७ सालको संविधानमा जनताको सर्वोपरिता कायम राख्न किशुनजीले कति ठूलो संघर्ष गर्नु परेको थियो : अहिले गणतान्त्रिक संविधानको कार्यान्वयनमा लागेका नेताहरुले वुझेका होलान । राजतन्त्र समाप्त भै सकेको अवस्थामा समेत नेपाली सेनासंग विसंगत सम्वन्धमा फँसेका राजनीतिक दलहरुका लागि किशुनजीको सम्झना सान्दर्भिक हुनेछ ।

राजनीति खुला छ, समाज स्वतन्त्र छ, व्यक्तिको सर्वोपरिता स्थापित भै सकेको छ र पनि संविधानको सर्वोपरिता स्थापित हुन सकेको छैन । राजनीतिक दलहरुमा विचार र चिन्तनको खडेरी लागेकोछ । रित्तो गाग्रो धेरै छचल्किन्छ भन्ने उखानलाई सावित गरी सकेका छन नेताहरुले । उनीहरुले न इतिहासबाट सिक्न सकेका छन, न वर्तमानलाई वुझन सकेका छन । राज्य शक्तिको अतिरन्जित र अपरिमित लोभले विगार्न थालेको छ देशलाई । चप्पल लाउनेले जुत्ता लाउन पाउनु पर्दछ । तर, एउटै गोडामा तीन जोर जुत्ता लाउनु अत्यन्त अस्वाभाविक आचरण हो ।

किशुनजीका जीवनका उपलव्धिहरु के थिए ? उहाँको जीवनको कुन पक्षको अनुशरण गर्नु पर्दछ अहिलेका राजनीतिज्ञहरुले ? सन्चार माध्यमले धेरै कोट्याए यो प्रश्न । यो कुनै उद्भट प्रश्न होइन । समयलाई कसैले पछ्याउन र अनुसरणगर्न सक्दैन । दुइवटा मात्र विकल्प छन, या त समयको प्रवाहसंगै वग्नु पर्दछ या समयको प्रवाहका विपरित चल्न सक्नु पर्दछ ।

किशुनजी नेपाली समयको सतत चेतना हुनुहुन्थ्यो । समयको प्रवाहका विपरित चलेर पनि समयमाथि नियन्त्रण जमाउनु भएको थियो उहाँले । अनुभव र अध्ययनले खारिएको ब्यक्तिले मात्र विवेकसम्मत कामगरेर समयलाई आफनो नियन्त्रणमा राख्न सक्दछ । राजनीतिक हिसावले किशुनजी सफल–असफल के हुनु भयो ? यसको चिन्ता गरी रहनु पर्दैन ।

एउटा सामान्य परिवारमा जन्मिनु भएका किशुनजी सही अर्थमा ‘सर्वहारा’ हुनुहुन्थ्यो । कुलीन मिथ्याका विरुद्ध सामान्य नेपाली जनताको आत्मसम्मानका लागि निरन्तर संघर्षमय जीवन विताउनु भयो उहाँले । ‘सन्त’का रुपमा नेपाली जनताले सम्मान गरेका किशुनजी अहिले पनि ठट्टा गरी रहनु भएको छ जस्तो लाग्दछ : ‘वागमतीको पानीमा सवैको वुद्धि भ्रष्टगर्ने ताकत छ बाबू ।’