बजेटको आकार १४ प्रतिशतले घटाइयो - रुपान्तरण
 २०८३ जेठ ५, मंगलबार    

बजेटको आकार १४ प्रतिशतले घटाइयो


काठमाडौँ। सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन्।

गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन्। तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए। सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेललले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन्।

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा झारेका हुन्। १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य राखिएकोमा अर्थमन्त्री पौडेलले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड सङ्कलन हुने अनुमान प्रतिनिधिसभामा पेस गरेका हुन्।

सो अवसरमा पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताए । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताए ।

“निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न र वित्तीय क्षेत्रमा देखा परेका समग्र समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको छु”, उनले भने “तथापि, संरचनागत सीमितता र केही अन्तर्राष्ट्रिय असरका कारण सुधारका प्रयासले ठोस् नतिजा दिन समय लाग्ने देखिएको छ ।”

उपप्रधानमन्त्री पौडेलले बजेट सन्तुलन कायम गर्ने, खर्चको प्राथमिकीकरणको गुणस्तर बढाउने पुँजीगत खर्च वृद्धिमा जोड दिने, अत्यावश्यक बाहेकका खर्च कटौती गरी मितव्ययिता कायम गर्ने तथा राजस्व प्रशासनलाई चुस्त दुरुस्त बनाउने, कर परिपालना बढाउने र चुहावटमा कडाइ गर्ने नीति लिएको पनि सदनलाई जानकारी गराए ।