राज्यप्रति इमान्दार करदातालाई सरकारको पुरस्कार - रुपान्तरण
 २०८३ जेठ ५, मंगलबार    

राज्यप्रति इमान्दार करदातालाई सरकारको पुरस्कार


काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।

यसै सिलसिलामा सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ। यसैगरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका चेयरम्यान विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा रहेका छन्।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज समूह अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छ।
यी कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, बडवाइजर वियर लगायतका मदिरा उत्पादन गर्छन्। शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए।

आयकरतर्फ नेपाल दूरसंचार कम्पनी सबैभन्दा धेरै तिर्ने करदाता बनेको छ। सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ।

निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने बनेका छन्।

बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्।वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत, मध्यमस्तरीय करदाताका रुपमा नेपाल स्टक एक्सचेन्जले पनि यो सम्मान पाएका छन्। आईएमई रेमिट्यान्स कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ।